कांग्रेस आधिकारिकता विवाद : देउवा पक्षले निर्वाचन आयोगलाई बुझायो प्रमाण

कांग्रेस आधिकारिकता विवाद : देउवा पक्षले निर्वाचन आयोगलाई बुझायो प्रमाण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरूले पार्टी आधिकारिकता दाबी गर्दै पार्टीको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्य समिति गठन भएपछि सभापति देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेर प्रमाण बुझाएको हो ।

कार्यवहाक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, नेता डा. शशांक कोइरालालगायत नेता तथा कार्यकर्ताहरू आयोग पुगेका थिए ।

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएसँगै कांग्रेसमा पार्टी आधिकारिकताबारे विवाद सुरू भएको छ। आगामी निर्वाचनमा आफ्नो आधिकारिकता कायम गर्न गगन पक्ष बिहीबार नै निर्वाचन आयोग पुगेको थियो।

कार्यवाहक सभापति खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।

गगन समूहले आयोजना गरेको विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूहले दाबी गरेको छ ।

विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए ।

देउवा पक्षले बुझाएको प्रमाण ग्रहण गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए ।

‘विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरू सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ’, उनले भने ।

यसैबीच, कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शुक्रबार बिहानैदेखि आयोग अगाडि धर्नामा बसेको छ। उनीहरूले आयोग घेर्ने समेत बताएको छ ।