पार्टी औपचारिक विभाजित भएपछि देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

पार्टी औपचारिक विभाजित भएपछि देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाण्डु – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ । सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा सानेपामा बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन थापा पक्षलाई दिएको हो।

कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाईँ लड्ने उद्घोष गरेको छ।

शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय सेटिङ अनुसार आएकाले नमान्ने बताएका थिए।

पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ।

थापा सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा समूहले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो।