कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने, पदाधिकारीको पदभार ग्रहण भोलि

कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने, पदाधिकारीको पदभार ग्रहण भोलि


काठमाण्डु – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्ने तयारी छ ।

पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम छ । फागुन २१ गते हुने चुनावका लागि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो। त्यसअघि सभापति थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्ने संसदीय बोर्डको बैठक होटलमै सञ्चालन गरेका थिए।

कांग्रेसको हालै सम्पन्न विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।