काठमाण्डु – नेपाली कांग्रेसले सभापति गगनथापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रने भएको छ ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।
तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, देउवा तयार नहुँदा निर्णय हुन सकेको थिएन ।
विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको प्रवक्ता देवराज चालिसेले बताए ।
थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा चुनावी प्रचार अभियान सुरु भइसकेको छ । टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबार केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन् ।
सक्रिय राजनीतिमा तीन दशक लामो संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको हो ।
गत भदौमा भएको जेन–जी विद्रोहपछि राजनीतिमा नयाँ पुस्ताको माग भइरहेका बेला २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति बनाएको हो ।
थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको एक सातापछि पार्टी मुख्यालय सानेपामा पहिलो पटक शुक्रबार बैठक बस्न लागेको हो ।




प्रतिक्रिया