काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले सरकारी संस्थालाई ‘भ्याकुम’ बनाएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको वैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संवेदनशील सरकारी निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले ती संस्थाहरूलाई ‘भ्याक्युम’ बनाएको टिप्प्णी गरेका छन् ।
आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताए । संक्रमणकालीन न्यायका आयोगलगायत केही संवेदनशील संस्थामा समेत पुराना पदाधिकारीलाई बर्खास्त गरिएकाले छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी रहेको उनको भनाइ छ ।
विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितहरू न्याय पाउनबाट वञ्चित रहेको उनले बताए । उनले टीआरसी ऐनको संशोधन गरे पनि धेरै कानुनी कमजोरीहरू बाँकी नै रहेकाले नयाँ नियुक्त गर्नुअघि कमजोरीहरू सुधार्न ऐनको चौथो संशोधन आवश्यक रहेको बताए । यसमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘द्वन्द्वपीडितहरूको न्यायको पर्खाइ र दीर्घकालीन सङ्घर्ष निकै लम्बिएको छ,’ आङ्देम्बेले भने, ‘यस्तो अवस्थामा टीआरसी र बेपत्ता आयोगलाई सक्षम र निष्पक्ष व्यक्तिहरू नियुक्त गरेर तत्काल सक्रिय बनाउनु सरकारको प्राथमिक जिम्मेवारी हो।’




प्रतिक्रिया