काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय बिहीबार सकिँदै छ ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले बिहीबार राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिने बताएका छन् ।
उनले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।
पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये बुधबार बेलुकासम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता प्राप्त गरिसकेका छन् ।
त्यसबाहेक थप एक लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको कांग्रेसले बताएको छ ।
महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अध्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।
कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै उनले प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधिक गर्न आग्रह गरे ।
नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यले अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ ।
कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यसबीच कांग्रेसको संस्थापन पक्षले सदस्यता अद्यावधिक नगर्नेलाई १५औँ महाधिवेशनमा सहभागी नगराउने नीति लिएको छ ।
महामन्त्री पौडेल नेतृत्वको समितिले जारी गरेको परिपत्रमा समयसीमाभित्र सदस्यता अद्यावधिक नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने उल्लेख छ ।
महामन्त्री पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका पार्टीका वरिष्ठ नेताहरूलाई सदस्यता अद्यावधिकबारे बारम्बार आग्रह गरिएका कारण समयसीमा थपिने सम्भावना नरहेको बताए ।
तर, इतर पक्षका नेताहरू भने अहिलेको मूल समस्या सदस्यतासम्बन्धी प्राविधिक नभएर राजनीतिक भएकाले अनौपचारिक तहमा चलिरहेको संवादअनुसार सभापति गगन थापासँग निर्णायक संवादमार्फत समाधान खोज्न लचिलो देखिएका छन् ।
संस्थापनले भने सदस्यता अद्यावधिकलाई नै सर्त मानेर परिपत्र गरेको थियो ।




प्रतिक्रिया