काठमाण्डु – नेपाली कांग्रेसले बन्द गरिसकेको ‘क्रियाशील सदस्यता’को म्याद फेरि थपेको छ ।
पार्टीले बिहीबार राति सूचना जारी गरि ‘अर्को सूचना जारी नभएसम्मका लागि म्याद थप’ गरिएको जनाएको छ ।
वैशाख १ गतेदेखि सुरु भएको ‘डिजिटल अद्यावधिक’ महाअभियान जेठ २८ गते राति १२ बजे सकिएको थियो । तर पार्टीले अप्रत्याशित रूपमा ‘अर्को सूचना जारी नभएसम्मका लागि म्याद थप’ भन्दै मध्य रातमै सूचना जारी गर्यो ।
यसअघि पनि जेठ २१ गते पहिलोपटक थपिएको म्याद सकिएपछि फेरि थप गरिएको हो । गत पुस २२ गतेसम्म जिल्ला–जिल्लाबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक गर्न योग्य मानिएको थियो । सोही अनुसार सदस्यता अद्यावधिक अभियान पार्टीले चलाएको हो ।
कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन् ।
एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।
संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रूपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसको भनाइ छ ।
तर कांग्रेसभित्र क्रियाशील सदस्यता सधै विवादको विषय बन्दै आएको हो । यसअघि चौधौँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुग्दा केही नेताहरूले पार्टी केन्द्रीय कार्यालयमा अनशनमा पनि बसेका थिए ।
आखिर करिब ८ लाख योग्य सदस्यमध्ये साढे ५ लाखभन्दा बढीले सदस्यता लिइसकेको र करिब डेढ लाख प्रक्रियामै रहँदा म्याद किन थप गरिएकोबारे कांग्रेस वृत्तभित्र चासो बढेको छ । कतिपयले म्याद थप गर्नुका पछाडि राजनीतिक आयाम रहेको बताउँछन् ।
कांग्रेसले यसपटक ‘एनसीआईडी’ अर्थात् डिजिटल परिचयपत्र अनिवार्य गरेको छ । कांग्रेसका अनुसार कुल ७ लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचय पत्र पाइसकेका छन् ।
तर १ लाख ४९ हजार ३०९ सदस्यले फाराम बुझाए पनि प्राविधिक र अन्य कारणले उनीहरूको विवरण समयमै अद्यावधिक हुन सकेको छैन ।
भौगोलिक विकटता, इन्टरनेटको कमजोर पहुँच र तल्लो तहका कार्यकर्तामा प्रविधिको साक्षरता कमीका कारण ठूलो संख्यामा सदस्यता नवीकरण छुट्ने भएकाले त्यसलाई समेटन म्यान थप गरिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलले बताए ।
तर कांग्रेसका एक नेताले ठुलो संख्यामा सदस्यता नवीकरण गर्नेहरू छुट्ने भएकाले प्राविधिक कारण देखाएर म्याद थप गरिएको बताउँछन् । यसबाट संस्थापन पक्षले इतर समूहलाई पनि समेट्ने रणनीति लिएको छ ।
पार्टीले तोकेको म्यादभित्र निवर्तमान सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन् ।
देउवासहित डा. शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू धनराज गुरुङ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, डा. प्रकाशशरण महत, किशोरसिंह राठोर, बद्री पाण्डेलगायतले सदस्यता अद्यावधिक गरेका छैनन् । कोइराला समूहका पूर्वपदाधिकारीले पनि अद्यावधिक प्रक्रियामा भाग लिएका छैनन् ।
इतर समूहले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेकाले पुनः अद्यावधिक गर्न अनिवार्य नरहेको बताउँदै आएको छ । सोही कारण इतर समूहले सदस्यता अद्यावधिक अभियानमा भाग नलिएको हो ।
पार्टीमा लामो समय सक्रिय रहेका नेताहरूले जानकारी नपाएर नभई अद्यावधिक गर्न नचाहेर नै सदस्यता अद्यावधिक नगरेको बुझाइ संस्थापन पक्षको छ । यही बुझाइका कारण म्याद थपिएपछि छुटेका पुराना र वरिष्ठ नेताहरूलाई समेट्न पुनः समय दिइएको हो ।
पार्टी भित्र क्रियाशील सदस्यताको विषय पेचिलो बनेको छ । क्रियाशील सदस्यता आगामी १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चुन्ने ‘भोट बैंक’ पनि हो । संस्थापन र इतर दुवै पक्षले क्रियाशील सदस्यमा आफ्नो बढीभन्दा बढी पहुँच बढाउन चाहन्छ ।
सदस्यता अद्यावधिकमा आफ्ना मान्छे छुटेको भन्दै दुवै संस्थापन र इतर समूहबाट दबाब बढेपछि नेतृत्वले ‘सेफ ल्यान्डिङ’का लागि म्याद थप्ने निर्णयमा पुगेको बताइन्छ ।
इतर समूहका नेता एवं पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेकालाई पुनः अद्यावधिक गर्नैपर्ने निर्णय अव्यावहारिक रहेको बताउँछन् ।
महतले बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै भनेका थिए, ‘एउटा महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेपछि फेरि अद्यावधिक गर्नु व्यावहारिक होइन ।’
यस्तै, डा. शेखर कोइरालाले पार्टीको एकताका लागि प्रस्तुत गरेको ५ प्रस्ताव बुँदे प्रस्तावको पहिलो बुँदामा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्न उल्लेख छ ।




प्रतिक्रिया