काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधि मण्डलको टोलीले मंगलबार बिहान मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि गर्न र क्वारेन्टाइनमा गुणस्तरीय खाना खुवाउन ध्यानाकर्षण गराएका छन् ।
भेटघाटका क्रममा समितिका संयोजक डा. महतले नेपालमा भएका क्वारेन्टाइनहरुनै कोरोना फैलाउने मध्याम जस्तो बनेको भन्दै क्वारेन्टाइनलाई ब्यबस्थित बनाउन मन्त्री ढकाललाई आग्रह गरेका थिए । पिसिआर टेस्ट नबढाएकोबारे ध्यानाकर्षण पनि गराएर पि सीआर टेस्टलाई व्यापक बनाउन माग गरेका छन् ।
उनले स्वास्थ्य सामाग्रीमा भएको अनियमितताको बारे छानबिन गरेर यथार्थ तथ्यलाई बाहिर ल्याउन पनि आग्रह गरेका छन् । उनीहरुले मन्त्रीलाई भने, ‘समयमै क्वारेन्टाइनलाई ब्यबस्थित गर्न लाग्नुपर्ने थियो तर सरकारले त्यतातिर ध्यान नदिँदा क्वारेन्टाइनकै कारण नेपालमा अहिले कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक मात्रामा बढेको छ ।’
क्वारेन्टाइनलाई ब्यबस्थापन गर्न सरकारले स्थानीय तहलाई रकम नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले तत्काल क्वारेन्टाइन ब्यवस्थापन गर्नका लागि स्थानीय तहलाई रकम दिन पनि स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका थिए ।
टोलिमा नेपाली कांग्रेस केन्द्रिय सदस्यहरु एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भण्डारी र गगन कुमार थापा, राष्ट्रिय योजना आयोगका पुर्वसदस्य प्रभु बुढाथोकी सहभागी थिए ।




प्रतिक्रिया