कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित, सदस्यता वितरणको गाँठो फुकेन

कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित, सदस्यता वितरणको गाँठो फुकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी फागुन ७ देखि १० गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको मितिमा नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण क्रियाशित सदस्यता नै वितरण गरिनसकेको अवस्थामा महाधिवेशन नै अन्यौलमा परेको हो ।

नयाँ कार्यतालिकाअनुसार आन्तरिक समायोजन १० साउनसम्म गरिसक्ने र क्रियाशील सदस्यताको अन्तिम सूची मंसिरसम्म सार्वजनिक गरेर अधिवेशनको तयारी तिव्र रुपमा गर्ने भनिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सदस्यता वितरण कार्य नै सम्पन्न नभएको अवस्थामा महाधिवेशनको चटारोमा नेताहरु देखिँदैनन् । दशैं तिहार, छठ जस्ता पर्वले पनि महाधिवेशनलाई प्रतिकूल प्रभाव पार्ने देखिएको हो ।

कांग्रेस स्रोतले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण कतिपय जिल्लाहरुमा जारी लकडाउनले काम गर्न समस्या भइरहेको छ ।

‘सभापतिका उम्मेद्वारहरु आन्तरिक किचलोमा रुमलिएका छन् । तोकिएको मितिमा महाधिवेशन गर्नेमा नेतृत्व तह सचेत छैन्’, स्रोतले भन्यो, ‘महाधिवेशनको मिति अनिश्चित छ । विधानअनुसार ६ महिनापछि गर्न सकिने विकल्प छ ।’

असार २५ गतेदेखि साउन मसान्तसम्म नयाँ सदस्यता वितरण र जिल्ला कार्यसमितिले सदस्यता नविकरण गरिसक्नुपर्ने भए पनि सदस्यता वितरणको गाँठो फुक्न सकेको छैन् ।

‘फागुनमा महाधिवेशन गर्ने भनेको छ । भदौ लागिसक्यो सदस्यता वितरण नै अन्योलमा छ । अब यहि चाला हो भने ०७८ सालको भदौमा महाधिवेशन हुने सम्भावना छ’ कांग्रेसका एक नेताले भने ।

कार्यतालिकाअनुसार पुस ६ गते गाउँ नगर वडा अधिवेशन, पुस ८ गते गाउँ नगरपापलिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा जिल्ला निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुन १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते काठमाण्डुमा गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन तोकिएको समयमा हुने दाबी गरेका छन् । उनले विधानअनुसार ६ महिना थप गर्ने प्रावधान भए पनि त्यो अवस्थामा पुग्न नदिने बताए ।

‘हामीलाई काम गर्ने समय पर्याप्त छ । कोरोना भाइरस भए पनि सामाजिक दूरी कायम गरेर हामी सम्पूर्ण काम टुंगोमा पुर्याउँछौं’, उनले भने ।

१३ औं महाधिवेशनमा ४ लाख ९८ हजार सदस्य पुर्याएको कांग्रेसले १४ औं महाधिवेशनमा त्यसलाई बढाएर १० लाख सदस्य पुर्याउने उदेश्य राखेको छ । कांग्रेसको हरेक महाधिवेशनमा सदस्यता वितरणबारे विवाद हुँदै आएको छ ।

गत बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पु¥याउने तयारी गरेको छ ।

सहमहामन्त्री डा. महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

‘क्रियाशील सदस्यता वितरण सुरु भएसँगै माग बढ्दो छ, पहिले ५० प्रतिशत बढाउने भन्ने थियो, माग बढेसँगै शत प्रतिशत बढाउने भन्ने विषयमा छलफल भएको छ । थप छलफल आगामी केन्द्रीय समितिमा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।