काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग् भएको ८ बुँदे सहमतिको स्वागत गरेको छ । कांग्रेसले यसअघि साउनमा सहमति गरेर माघमा उल्लंघन गरेकाले अब उप्रान्त उक्त नजिर दोहोरिन नहुने बताएको छ ।
शनिबार राती डा. केसी र सरकारबीच ८ बुँदे सहमतिको स्वागत गर्दै कांग्रेसले सहमतिको उल्लंघन हुन नदिन खबरदारी गर्नुपर्ने बताएको हो ।
‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी जरुरी ’, प्रवक्ता विश्वप्काश शर्माले आइतबार एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘डा. केसीले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ । सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।’
प्रवक्त शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा ०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको स्मरण गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको बताए ।




प्रतिक्रिया