अध्यादेश फिर्ता लिँदै तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

अध्यादेश फिर्ता लिँदै तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक तत्काल बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले समसामयिक विषयमा छलफल गर्नका लागि संसद बैठक बोलाउन माग गरेको हो ।

‘संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने भएकाले हामीले संसद बैठक बोलाउन माग गरेका छौं’, कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले भनिन्, ‘जनताका समस्या राख्ने थलो संसद नै बन्द गरेर सरकारले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको छ । त्यसकारण संसद बैठक बाेलाउनुपर्ने माग गरिएकाे हाे ।’

त्यस्तै बैठकले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । ‘संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक मान्यता विपरित छ यसलाई तुरुन्तै फिर्ता लिनुपर्ने निर्णय बैठकले गरेको छ’ सांसद संग्रौलाले भनिन् ।

भ्रष्टाचार बढेको, सरकारले कोराेना महामारी नियन्त्रणको लागि प्रभावकारी काम गर्न नसकेको आरोप पनि कार्यसमिति बैठकले लगाएको छ ।बैठकले पैसा नपाएर राजधानीसम्म आन्दोलन गर्न आएका उखु किसानको सबै रकम तत्काल दिलाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

हिउँदे बाली लगाउने बेला हुँदासम्म रासायनिक मलको व्यस्था सरकारले गर्न नसकेको भन्दै कांग्रेस बैठकले आपत्ति जनाएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठकाे हत्यामा संलग्न नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कारबाही गर्न सरकारसँग माग गरेको उनले जानकारी दिइन् ।