केन्द्रमा जसपा अलमल, गण्डकीमा कांग्रेसलाई साथ

केन्द्रमा जसपा अलमल, गण्डकीमा कांग्रेसलाई साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बहुमतको नेकपाको नेतृत्वमा रहेको सरकारलाई हटाएर नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट पहिलोपटक सरकारको नेतृत्व लिने प्रक्रिया अगाडि बढाएको छ ।

गण्डकी प्रदेशमा मृख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी केन्द्रले कांग्रेसलाई साथ दिएको छ ।

केन्द्रमा अनिर्णित बनेको जसपाले पनि कांग्रेससँग सहकार्य गर्ने भएको छ । बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

केन्द्रमा जसपाभित्र सरकारमा जाने विषयमा मत बाझिइरहेका बेला प्रदेशमा जसपाले कांग्रेसलाई साथ दिएको हो । केन्द्रमा माओवादी केन्द्रले कांग्रेसलाई नै अगाडी सारेका बेला जसपाभित्र विवाद कायमै छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव–डा. बाबुराम भट्टराईबीच मतभेद कायम रहेको छ । अध्यक्ष ठाकुरले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताइरहेका छन् भने यादव र भट्टराई कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडानमा छन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लुम्बिनीमा माओवादी केन्द्र र गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति गरेको स्रोतले जनाएको छ ।

सोही सहमति अनुसार आज गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रकृया अगाडी बढेको छ । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आगामी मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभामा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोख्रेल)लाई अगाडी सारेका छन् ।

राष्ट्रिय जनमोर्चाले नयाँ सरकारलाई समर्थन गर्ने बताइसकेको छ । कांग्रेस नेता कृष्णचन्द्र नेपालीले जनमोर्चालाई सरकारमा सहभागी गराउने विषयमा छलफल जारी रहेको बताएका छन् ।