काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादास्पद अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे संसदमा छलफल गर्नुपर्ने बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विवादास्पद एमसिसी कांग्रेस सरकारको पालामा सहमति भएकाले सरकारले संसदमा ल्याउनुपर्ने बताएका हुन् । ‘एमसिसी हाम्रो सरकारले ल्याएका हो । त्यसैले यसबारेमा पनि हामीले प्रष्ट गरेका छौँ । एमसिसीबारे संसदमा छलफल गर्नुपर्छ,’ उनले भने ।
साथै उनले बैठकमा कोरोना, रिक्त पदको उपनिर्वाचन, एमसिसी लगायतका विषयमा छलफल भएको बताए । उनले भने, ‘बैठकमा कोरोना, रिक्त पदको उपनिर्वाचन, एमसिसीको विषयमा पास गर्नका लागि सहमति कसरी गर्ने ? अहिलेको परिस्थितिमा राष्ट्रिय सहमति गर्ने बारेमा छलफल भयो ।’
उनले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्नका लागि सुझाव दिएको समेत बताए । ‘कोभिडको बारेमा सरकार गम्भीर भएर लकडाउनभन्दा रोकथाममा लाग्नुपर्यो । रोकथामको विधिबारे जनतालाई समेत सचेत गराउनुपर्छ । लकडाउन गर्नु ठिक हुँदैन’ उनले भने । त्यस्तै उनले राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको बताए ।




प्रतिक्रिया