एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान माथि उक्लियो

एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान माथि उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले एक स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औँ स्थानमा थियो ।

यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्यानडाले शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो । तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो ।

दुई स्थान खस्किएर क्यानडा १८ औँ स्थानमा पुगेको छ । एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड छ । नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । एकदिवसीय वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् ।

यस्तै, टी–ट्वान्टीआईतर्फ भने नेपाल १७ औँ स्थानमा कायमै रहेको छ । टी ट्वान्टीआईको शीर्ष स्थानमा पनि भारत छ ।