काठमाण्डु – विश्वकै सर्वोच्च शिखर सगरमाथासँग जोडिएर तयार भएको नेपाली चलचित्र ‘जेरी अन टप’ को प्रदर्शन शुक्रबारबाट भएको छ ।
सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर यो चलचित्र तयार भएको हो । यसमा सगरमाथालाई मुख्य विषय बनाइएको छ।
चलचित्रले नेपालको पर्यटकीय स्थलको प्रवर्द्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पु¥याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले बताए।
शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताए।
चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन्।
चलचित्रमा देखिँदा स्वाभाविक लागोस भनेर उनले र चलचित्रमा सगरमाथा चढ्न सघाउने गाइड बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएकी थिइन्।
चलचित्र ‘जेरी अन टप’ पश्चात् अन्य निर्मातालाई पनि हिमाली कथामा चलचित्र बनौँ प्रेरणा मिल्ने अभिनेता केसीको बुझाइ छ।
अभिनेत्री गुरुङले पनि पात्रलाई स्वभाविक देखाउन सक्दो मेहनत गरेको बताइन्।
चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन्।
अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’को सुयोग गुरूङले निर्देशन गरेका छन्। यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गरेका छन्।




प्रतिक्रिया