नेपाली जेलमा ११ सय विदेशी


काठमाडौं – नेपालमा विदेशी किन आउँछन् रु घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् ।

तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ ।

पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, अप्राकृतिक मैथुनलगायतका गतिविधिमा संलग्न भएको पाइएको छ ।

कतिपय विदेशी पर्यटक भिसा लिएर आपराधिक काम गर्नकै लागि नेपाल आउने गरेका छन् भन्दाचाहिँ धेरैलाई विश्वास नलाग्न सक्छ । वास्तविक त्यही नै हो । अहिले विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै ११ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेकाले यसको पुष्टि हुन्छ । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको रेकर्ड राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले चार सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्यांक देखाउँछ । कारागारमा रहेका विदेशीमाथि झन्डै ३९ वटा फरकफरक मुद्दामा सजाय भोगिरहेका छन् ।

विभागले अन्य विदेशी कैदीबन्दीको तथ्यांकसमेत सफ्टवेयरमा राख्ने तयारी गरेको छ । यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भुटानलगायत ३१ मुलुकका नागरिक छन् । सबैभन्दा बढी तीन सय ७३ जना भारतीय छन् । पाकिस्तानी १८, भुटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका २ जना कारागारमा छन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement