समाजमा बदला लिन जन्मिएको नेपाली ‘प्याड मेन’

समाजमा बदला लिन जन्मिएको नेपाली ‘प्याड मेन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रकाश बस्याल/ काठमाण्डु – ललितपुर भैँसेपाटीका ज्ञान महर्जन महिलाले महिनावारी हुदाँ प्रयोग गर्ने प्याड बोकेर हिँड्छन् । यो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ! तर, उनले बोक्ने प्याड उनी आफैंले बनाउने गर्छन् । हामीले स्वयम् महिलाहरु नै बजारमा प्याड किन्न हिच्किचाउने गरेको देख्ने गरेका छौं । तर, महर्जन भने आफैंले प्याड बनाएर बाँड्ने समेत गर्छन् । एक्सपोज नेपालका अध्यक्ष समेत रहेका महर्जनले संस्थामार्फत महिलाहरुलाई प्याड बनाउने तालिम पनि सञ्चालन गरिरहेका छन् ।

महिनावारी हुँदा प्रयोग गर्ने बजारिया प्याड पुनः प्रयोग गर्न मिल्दैन तर, महर्जनले बनाएको प्याड धोएर धेरै पटक प्रयोग गर्न मिल्छ । अहिले उनी प्याडलाई अतिवाश्यक साधन हो भनेर बुझाउँदै हिँडेका छन् । साथीभाइको जमघट होस् या सभासम्मेलन प्याड आवश्यक साधन भएको र महिनावारीबारे खुलेर कुरा गर्नुपर्ने महर्जन बताउँछन् । त्यसका लागि पुरुषहरुले साथ दिनै पर्ने उनको भनाइ छ । सरकारले प्याडलाई सहज पहँचमा पुर्‍याउन सहयोग गर्नुपर्ने प्याड म्यान महर्जनको भनाइ छ ।

उनी भन्छन्, ‘जसरी हामीलाई विरामी हुँदा औषधी आवश्यक पर्छ । त्यसैगरी महिलाहरुलाई महिनावारी हुँदा प्याड अनिवार्य आवश्यक पर्छ त्यसैले यसलाई लाजको बिषय बनाउन हुँदैन । हामीले देखेका छौँ, पसलहरुमा महिलाहरुले प्याड मागेपछि लुकाएर वा कागजले छोपेर लाने गर्छन । हामी सबैले अब देखाएर प्याड दिने गरौँ ताकी महिलाहरुले महिनावारीलाई सहज मानोस् यसबारे खुलेर कुरा गर्न सक्ने होस् ।’

पुरुषले पनि घरमा आमा, श्रीमती, छोरी, बहिनीलगायतलाई आवश्यक पर्ने सामानलाई आवश्यकताको सामग्रीको सूचीमा प्याडलाई राख्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो देश पुरुष प्रधान देश हो । प्रायः घरमा आवश्यकताको सामान पुरुषले किन्ने वा जोहो गर्ने प्रचलन छ,’ महर्जन भन्छन्, ‘यदि प्याडबारे पुरुषले बुझ्ने हो भने यो पनि घरमा आवश्यक सामानमध्ये एकमा पर्छ र महिनावारीका बेला महिलामा हुने विभेद केही हदसम्म स्वतः अन्त्य हुन्छ । घरमा सुर्ती चुरोट किन्ने पुरुषले नुनतेलसँगै प्याडलाई पनि आवश्यकीय सामग्रीको सूचीमा राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

अहिलेसम्म प्याडलाई लज्जाको विषय बनाइएकाले सबै मिलेर यसलाई चिर्नुपर्ने उनले बताए । आफ्ना दिदिबहीनी र आमा र श्रीमतीको आवश्यकतामा साथ दिनु पुरुषको कर्तव्य भएको बताउँदै यसलाई लाज भन्दापनि महिलामा हुने सामान्य प्रक्रियाको रुपमा बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

महर्जनले सकेसम्म बजारिया प्याडलाई विस्थापित गर्नुपर्नेमा जोड दिए । ‘नेपालमा प्याड उत्पादन नहुँदा भारत तथा अन्य देशबाट केमिकलयुक्त प्याड आयात भइरहेको छ । जुन मानव स्वाथ्यकालागि हानिकारक छ । अर्को कुरा केमिकलयुक्त प्याडले वातावरणीय स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘विदेशबाट आउने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन र यसमा भएको केमीकलले छालामा असर पनि गर्छ यस्तै ति प्याड बनाउँदा प्लास्टिकको प्रयोग हुन्छ जुन प्रयोग गरिसकेपछि डिस्पोज हुन कयाैं बर्ष लाग्छ । यसले हाम्रो वातावरणमा निकै प्रभाव पार्छ ।’

खर्च र स्वास्थ्यमा मितव्ययीता अपनाउन पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगलाई वृहत्तर बनाउन जरुरी रहेको महर्जनको तर्क छ ।

प्याड मेनको कथा

सानो छँदा आमालाई  केहि आफन्तहरुले कुटेको मैले अहिले पनि सम्झन्छु । त्यो बेलादेखी ममा प्रतिशोधको भावना थियो । जसरी पनि गाउँलेहरुसंग बदला लिनु नै थियो । मेरो उमेर बढ्दै गयो त्यसपछि सोचाइमा पनि परिवर्तन आउन थाल्यो । बदला भन्दा पनि आफैं बदलिएर समाजमा केही गर्ने सोच आयो । त्यसपछि स्कुल र कलेजका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन थालें । मलाई कसरी हुन्छ आफ्नो समाजमा केही गरेर देखाउनु नै थियो । सन् २००७ तिर म महिलामाथि हुने हिंसाविरुद्ध काम गर्थें ।

विशेष गरी घरभित्रै हुने महिला हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा, विद्यालयमा मेरा छात्रा साथीहरूमाथि भएका हिंसा, उनीहरूलाई पुरुषहरूको झुण्डले जिस्क्याउने अझ उनीहरू महिनावारीका बेला विद्यालयभित्रै असुरक्षित महसुस गर्ने उनीहरूको हाउभाउले मलाई सानैदेखि प्रभाव पारेको थियो । सन् २०११ देखि विशेषगरी यौनजन्य हिंसा अर्थात् यौनदुराचार र दुव्र्यवहारविरुद्ध काम गर्न थालें । काम गर्दै जाँदा लैंगिक हिंसाविरुद्ध काम गर्ने धेरै संस्था आए । जब सन् २०१४ मा जर्मनका संघसंस्थाले महिनावारीबारे यो एक हिंसा हो भनेर बोल्न थाले तब हामीले पनि सन् २०१५ को अन्त्यतिर नेपालमा पनि महिनावारीका विषयमा पो काम गर्नुपर्छ भन्ने महशुस गयौं ।

नेपालमा महिनावारीका बेला हुने विभिन्न विभेदहरूले यो पनि एउटा हिंसा हो भनेर हामीले सन् २०१५ को अन्त्यदेखि नै यसविरुद्ध काम गर्न थाल्यौं । सुरुमा त निकै समस्या भयो । महिलाले महिनावारी हुँदा के प्रयोग गर्छन् भन्ने नै त मलाई थाहै थिएन । मलाई ‘एक्ज्याक्ट’ महिनावारी हुँदा हुने प्रक्रियाको कुरा पनि त थाहा थिएन नि ! अनि मैले आमालाई सोधें । सुरुसुरुमा त आमा हास्नु हुन्थ्यो । के किन जस्ता प्रश्न पनि नआएका होइन तर पछि पछि म आफ्नो कुरामा अडिग भएपछि आमाले पनि सहयोग गर्नुभयो । मैले अरु श्रीमतीसँग पनि सोधिरहें । सबैभन्दा सहज मलाई श्रीमतीसंग भयो । उनलाई सबैकुरा सोध्थे ।

अफिस आउने महिला कर्मचारीलाई सोधें । त्यसपछि प्याडबारेको कन्सेप्ट तयार भयो । हामीले शुरुमा कपडा काटेर प्याडको आकार दिएर ९० जना महिलालाई बाँड्यौं । त्यसपछि हामीले प्याडलाई कसरी अड्काउन सकिन्छ भनेर सोच्यौं अनी त्यसमा ‘च्यारच्यारे’ थप्यौं । प्रयोगकर्तासंग प्रतिक्रिया लिँदा त्यसले घाउ बनाएको भन्ने गुनासो आयो । फेरी हामीले क्लियर ब्यागमा हुने बटम प्रयोग गर्‍याैं। अहिले सबैले सहज मानिरहनुभएको छ ।

हामी यसरी नै अगाडी बढ्दै थियौं । भारतमा प्याड मेन भन्ने फिल्म बन्यो त्यसले मलाई अझ थप मद्धत पुग्यो । अहिले सबैले मलाई प्याड मेन भनेर चिन्नुहुन्छ । तर, यसको सबैभन्दा पहिलो श्रेय नागरिक आवाजका पत्रकार श्रीराम पौडेललाई जान्छ । एकपटक २०७४ सालतिर उहाँले मेरो अन्तवार्ता लिनुभएको थियो ।

त्यो बेला उहाँले तपाईंलाई मैले नेपाली प्याड म्यान भनेर सम्बोधन गर्छु भन्नुभयो । अन्तर्वार्ता सकियो । त्यसपछि हिमाल खबर पत्रिकाले पर्दा बाहिरका प्याडम्यान भनेर फिचरिङ गर्‍यो । त्यसको केही पछि काठमाण्डु पोस्ट्ले पनि ‘मिट नेपाली प्याड म्यान’ भनेर स्टोरी गर्‍यो । लगतै धेरै मिडियाले मेरोबारेमा लेखे त्यसपछि नै मेरो परिचयमा प्याड मेनको टाइटल थपियो ।