नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई ‘तँ’ भन्न नपाइने

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई ‘तँ’ भन्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ’, उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्छ ।’

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाणले दिएका हुन्।

संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो । अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न पाइने छैन ।