काठमाण्डु – संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्री–स्याट)को प्रश्नपत्र बाहिरिएको घटनामा ३० जना प्रहरीकाे संलग्नता पुष्टि भएकाे छ ।
प्रहरी प्रधान कार्यालयले प्री–स्याटको प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न गठन गरेको छानबिन समितिको प्रतिवेदनमा डीएसपीसहित ३० जना प्रहरी अधिकारीहरुको संलग्नता रहेको उल्लेख छ ।
स्रोतकाअनुसार प्रश्न पत्र सार्वजनिक कार्यमा डीएसपी, हवल्दार कुमार शाह र यूएन शाखामा कार्यरत परिचर सुरेश बमलगायतको संलग्नता पुष्टि भएको हो ।
हवल्दार शाहको योजना सार्वजनिक भएको उक्त प्रश्नपत्र डीएसपी रुपेश खड्कालाई दिएको खुलेको छ । खड्का र हवल्दार शाहले अन्य ३० प्रहरीलाई उक्त प्रश्नपत्र दिएका थिए ।
छानबिन समितिको प्रतिवेदनमा प्रश्नपत्र बाहिरिएको खबर थाहा पाएर पनि चुपचाप बसेको आरोपमा ३० जना प्रहरी कारबाहीमा पर्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । डीआईजी वसन्त लामाको नेतृत्वको छानबिन समितिले आज प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बुझाउँदैछ ।
गत हप्ता प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयबाट जवानदेखि एसएसपी सम्मका २ हजार ४ जना परीक्षामा सहभागी भएका थिए ।




प्रतिक्रिया