सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थी अधिकृत स्वदेश फिर्ता


काठमाण्डु-  सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुको टोली बंगलादेश र पाकिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुको टोली  फाल्गुन २९ गतेदेखि चैत्र ५ गतेसम्म मित्रराष्ट्र बंगलादेश र पाकिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

 उक्त भ्रमणमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० जना बंगलादेश तथा सोही कलेजका मुख्य शिक्षक महा सेनानी विमल राज शर्माको नेतृत्वमा ४७ जनाको टोली पाकिस्तान भ्रमणमा सहभागी भएका थिए । उक्त टोलीहरुले स्थल, जल र हवाई सेनाका निकायहरु, महत्वपुर्ण औद्योगिक स्थल एवं समकक्षी कलेजहरुको स्थलगत भ्रमण गरेका थिए ।

उल्लेखित तालिमका शिक्षार्थीहरुलाई बार्षिक रुपमा छिमेकी तथा मित्रराष्ट्रहरुमा गराइने भ्रमणमा उक्त देशका जल, थल तथा वायु सेनाको युद्धकला लगायतका नविनतम प्रविधिहरुको प्रदर्शनी तथा अवलोकनको व्यवस्था मिलाइने गरेकोले शिक्षार्थीहरुलाई समसामायीक सैनिक विषयहरुमा ज्ञान हासिल गर्न मद्दत पुग्नुका साथै सैन्य कुटनितिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement