नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त

नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त भएका छन् ।  सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उनीहरु सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।

यसअघि अवकाशमा जानुभन्दा दुई साताअघि विदामा बसेका उपरथी शाही आफ्नो सेवा अवधि अझै एक वर्ष बाँकी रहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी कार्यालय हाजिर हुन पुगेपनि सैनिक मुख्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेको विषयमा सर्वोच्च अदालतबाट तत्काललाई उन्मुक्ति पाएका बहालवाला उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितता र सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।