चेन अफ कमाण्ड नै नेपाली सेनाको शक्ति हो : प्रधानसेनापति शर्मा

चेन अफ कमाण्ड नै नेपाली सेनाको शक्ति हो : प्रधानसेनापति शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् ।साेमबार महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए।

प्रधानसेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ थियो ।

प्रधानसेनापति शर्माले भने, “हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।” समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ थियो । “समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो”, यी कुरालाई सधैँ सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधानसेनापति शर्माले उल्लेख गरे।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, युनिट र स्थानमा तैनाथ रही योगदान पुर्‍याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको बताए। नेपाली सेनाको व्यवस्थापन तथा सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ मा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।