काठमाण्डु – नेपाली सेनाले पछिल्लो समय बाढीपहिरो पीडितको उद्धारमा सक्रियता बढाएको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीपहिरो गई जनजीवन प्रभावित भएकाले सेनाले उद्धारमा सक्रियता बढाएको हो ।
सोही क्रममा बझाङ जिल्लाको थलारा गाउँपालिका डिख्लामा बाढी पहिराेबाट वेपत्ता भएकाहरुको नेपाली सेनाले खोजी कार्य तिव्र पारिरहेको छ । सेनाले २३ जना बेपत्ता मध्ये चार जनाको शव फेला पारेर सनाखत समेत गरिसकेको विरभद्र गुल्म पानकोटका गुल्मपति मेग बहादुर गुरुङले बताए । त्यस्तै उनले बाढी पहिराे क्षेत्रमा सहसेनानी अजित थापाको नेतृत्वमा १७ जना नेपाली सेना अनावरत रुपमा खटिरहेकाे बताए ।
बाढीपहिरो प्रभावित देशका विभिन्न क्षेत्रहरुमा बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्यलाई जारी राख्नुको साथै अवरुद्ध भएका मुख्य तथा सहायक सडकहरु सुचारु गर्नको लागि सहयोग गरिरहेको र विभिन्न नदीको तटिय क्षेत्रमा तटबन्दको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिदैँ आइरहेको छ।
मुलुकभर केही दिनदेखि परिरहेको अवरिल वर्षाका कारण पहाडी जिल्लामा बाढीपहिराे तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । बाढी पहिरोमा परि जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लाका बेपत्ता भएका २३ जना मध्ये ४ जनाको सनाखत भएको छ ।
सनाखत भएका ४ मध्ये ६ बर्षका आयुस पार्की, २६ बर्षका सिता सार्की, ८ बर्षका विकास सार्की र १२ बर्षका सन्दिप सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट घटना स्थलमा खोजीकार्यको लागी खटिएका प्रहरी निरिक्षक लोकेन्द्र सिंह कार्कीले अन्य १९ जनाको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
खोजी कार्यमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरुले खोजी गरिरहेका छन् । यस्तै जिल्लाको खप्तड छान्ना गाउँपालिकामा समेत बाढीपहिरोमा परि ६ जनाको मृत्यु भएको छ, भने बाढी पहिरोले करोडौं धनजनकाे क्षति भएको छ । आज विथ्थड चिर गाउँपालिका र छविस पाँथिभेरा गाउँपालिकामा पहिरोमा परि वेपत्ता भएका थप २ जनाकाे शव समेत फेला परेकाे छ ।










प्रतिक्रिया