नेपाली सेनाले गर्यो बारा र पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण


काठमाडौं – गत वर्ष चैत १७ गते साँझ बारा र पर्सामा आएको हावाहुरीबाट पीडित भएका परिवारका लागि नेपाली सेनाले निर्माण गरेको घर हस्तान्तरण गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज आयोजित एक कार्यक्रममा जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरिएको हो ।

गत वर्ष चैतमा आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही अनुरुप नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो ।

बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो । उक्त आवास निर्माणमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं ४ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी स्थानीय जनजनप्रतिधि लगाएतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement