जाजरकोट – नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो ।
श्री नं. ४ बाहिनी अड्डा अन्तरर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले जानकारी दिए । परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साहेको रिणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको छ ।
साथै शिवशंकर माविमा अध्ययनरत अति विपन्न र दलित समुदायका विद्यार्थीहरुको शैक्षिक सामग्री ,खेलकुद सामग्री समेत वितरण गरिएको छ । चन्दननाथ गणले हालै मात्र जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा रातिको समयमा विपदमा परेका घाइते र सिकिस्त विरामीलाई हेलिकप्टरबाट आकस्मिक उद्धार गर्न सहज हुने गरी रात्रीकालिन अवतरण सुविधायुक्त हेलिप्याडको निर्माण सम्पन्न गरेको छ ।
राहत पाएपछि नैमती लुहारले सेना आफ्नो लागि भगवानका रुपमा आएर सहयोग गरेको बताइन् । ‘जसलाइ सहयोग माग्दा पनि कसैले हेरेका थिएनन् तर सेनाले सहयोग गरेको छ, निकै खुसी लागेको छ।’ लुहारले बताइन् ।




प्रतिक्रिया