नेपाली सेनाका २६७ जना शान्ति सैनिक कंगो प्रस्थान

नेपाली सेनाका २६७ जना शान्ति सैनिक कंगो प्रस्थान


काठमाण्डु – संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली कंगो  गएको छ। आइतबार काठमाण्डुबाट नेपाल एयरलाइन्समार्फत शान्ति सेनाको एक टोली कंगो गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघको स्थायित्व मिशन (मोनुस्को)का लागि सेनानी कमल थापाको नेतृत्वमा २६७ जना शान्ति सैनिक मिशन इलाकातर्फ प्रस्थान गरेका हुन्।

हाल मिशनमा तैनाथ टोलीको कार्यवधि सकिएसँगै नरसिंहदल गण २९औं डफ्फा, द्रुत प्रतिक्रिया बल कम्पनी दोस्रो डफ्फा र नं.२६ फिल्ड गुल्म २६औं डफ्फाको टोली नेपाल एयरलाइन्सको विमानमार्फत कंगो गएको हो।

मिशनमा तैनाथ रहेका फष्ट रैफल गण २८औं डफ्फा, द्रुत प्रतिक्रिया बल कम्पनी पहिलो डफ्फा र नं.२५ फिल्ड गुल्म २५औं डफ्फा (इन्जिनियर कम्पनी)को अन्तिम टोलीका २५५ जना शान्ति सैनिकहरू प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा मंगलबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देनालयले जनाएको छ।

हाल मोनुस्को मिशन, कंगोमा तैनाथ नेपाली सेनाका ३ युनिटहरूमा ११२६ जना सकलदर्जाहरूका साथै स्टाफ तथा अब्जर्भर नियुक्तिहरूमा समेत फौजहरूको सहभागिता रहेको छ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वर्त मुलुकहरूमा सहभागी भई शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। शान्ति मिशनमा फौज योगदान गर्ने देशहरूको सूचीमा नेपाल तेस्रो स्थानमा रहेको छ।