काठमाडौं – संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार (आज) सुडानका लागि उडेको छ ।
प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट निधन भएको थियो । उनी ९ महिना अघि सुडान मिशन मुख्यालयमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए । उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो ।
संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।सुडान पुग्न नेपाल हुदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।
यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए । काठमाडौंबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्ने छ । त्यहाँ इन्धन भरेर सुडानस्थित खारथुम अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौं फर्किने छ । सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन् ।




प्रतिक्रिया