जाजरकोट – जाजरकोटमा विदेशबाट आएका ५८ जनासहित नेपाली सेनाका ४९ जवानहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो ।
जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
सेल्फ क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना रहेका छन् ।
यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रासस




प्रतिक्रिया