काठमाडौँ – बेलायतमा स्वर्ण पदक जित्ने सेनाको एक टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्मान गरेका छन् । असोज २४ देखि कार्तिक ३ सम्म सञ्चालन भएको एक्सर्रसाइज क्याम्ब्रियन प्याट्रोल २०१९ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको थियो ।
प्रमुख सेनानी अशिम देव गुरुङ् नेतृत्वको उक्त टोलीलाई बिहीबार सेनापति थापाले प्रधानसेनापती प्रशंसा निशानु प्रदान गरेका हुन् ।
उक्त ‘प्रधानसेनापति प्रशंसा निशान’ सुशोभन कार्यक्रममा प्रधानसेनापति महारथी थापाले प्रतियोगितामा सहभागी सकलदर्जालाई सुशोभन गर्नुका साथै हार्दिक बधाई ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दैं उनले नेपाल र नेपाली सेनाको प्रतिनिधित्व गरी हासिल गरेको सफलताले नेपाली सेनाको गौरवमय इतिहासलाई थप जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गरेका थिए । बेलायतको वेल्सस्थित ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाली समेत अन्य ३४ देशका गरी कूल १४० सैन्य टोलीहरुको सहभागिता रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको तर्फबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गले नेतृत्वमा गरेका उक्त अभ्यासमा श्री विशेष फौज बाहिनी, श्री पशुपति प्रसाद गण र गौरीबक्स गुल्मका टोलीले सहभागिता जनाएका थिए ।उक्त विश्वस्तरिय सैन्य अभ्यासमा युद्वकालीन विशेष परिस्थितिहरुको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर शारीरिक सहिष्णुता र पेशागत दक्षताको आधारमा मुल्याङ्कन गरिएको थियो । सन् १९६० बाट वार्षिक रुपमा मित्रराष्ट्र बेलायतमा संचालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको ‘Exercise Cambrian Patrol 2019’ प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिदैं आईरहेको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो । नेपाली सेनामा कार्यरत सैनिकहरुले नेपाल तथा सेनाको प्रतिष्ठा उच्च बनाउन गरेको योगदानका आधारमा ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिदै आएको छ ।
नेपाली सेनाको यस प्रकारको प्रतियोगिताहरुमा सहभागिता तथा संगठनको नेतृत्वबाट प्रदान गरिने यस प्रकारको प्रशंसाले नेपाली सेनामा कार्यरत सैनिकहरुको कार्य क्षमता, आत्मबल तथा संगठनप्रतिको सकारात्मक भावनामा वृद्धि भई थप व्यवसायिक हुने विश्वास नेपाली सेनाले लिएको छ ।





प्रतिक्रिया