नेपाली सेनाले देखायो कमाल, हावाहुरी पीडितले पाए ४ महिनामै घर


काठमाडौं – सरकारी विकास निर्माणका काम र योजनामा ढिलासुस्ती हुने रोग नेपालमा सामान्यजस्तै देखिन्छ । निर्धारित समयमा काम सम्पन्न नहुँदा पटक–पटक म्याद थप्ने गरिएको छ ।

ढिलासुस्तीको रोग मौलाएको बेला नेपाली सेनाले भने कमाल गरेर देखाएको छ । गत वर्ष चैतमा बारा र पर्सामा आएको हावाहुरीबाट पीडित परिवारका लागि घर बनाएको छ । हावाहुरी आएको ५ महिनाभित्रै र घर निर्माण शुरू भएको ४ महिनाभित्रै सेनाले पीडितका लागि घर निर्माण गरेको छ ।

सरकारले जिम्मा दिएपछि सेनाको जनता आवास कार्यदलले घर निर्माण गरेको हो । बारामा ८ सय ७ र पर्सामा ६२ वटा घर निर्माण गरिएका छन् । पीडितका लागि बनाइएका घर आज हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सेनाले बनाएका घरको स्थलगत निरीक्षण गरी पीडितलाई साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । घर हस्तान्तरण गर्ने कार्यक्रम वीरगञ्जमा आयोजना गरिएको छ ।

अनौठो हावाहुरीले बारा र पर्सामा जनधनको क्षति गरेपछि सरकारले चैत्र २१ गते मन्त्रिपरिषद् बैठकबाट घर निर्माण गरिदिने जिम्मा सेनालाई दिएको थियो । सरकारी निर्णयपछि बैशाख २१ गते कामको शिलान्यास भएपछि सेनाले घर निर्माणको काम शुरू गरेको थियो । घर निर्माणमा करीब तीन हजार सेना खटिएका थिए ।

सेनालाई विकास निर्माण काममा लगाउने सन्दर्भमा विवाद समेत उठ्ने गरेको छ । तर सेनाले आफ्नो क्षमता प्रदर्शन गर्दै उत्कष्ट काम देखाउने गरेको छ । जसको पछिल्लो नमूना बारा पर्सामा घर निर्माण बनेको छ । चैतमा आएको विनाशकारी हुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।

क्षतिको विवरण संकलनमा नाम छुटेका परिवारको घर निर्माण हुन सकेको छैन । सरकारी संयन्त्रले पीडितको विवरण संकलनमा त्रुटि गरेपनि सेनाले जिम्मा पाएको काम यथाशीघ्र सम्पन्न गरेको छ । सेनाले निर्माण गरेका घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेका छन् । सेनाले बनाएको घर प्राकृतिक प्रकोप प्रतिरोधी रहेको जनाइएको छ । घर बनाउन सरकारले प्रतिघर ५ लाख रुपैयाँ छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement