-उदय सिंह श्रेष्ठ
नेपालगन्ज – राष्ट्रिय खेलकुद परिषद बोर्डले बैशाख ५ गते उदघाटन हुने गरी आठौं राष्ट्रिय खेलकुदको समय ३ पटकसम्म समय तोक्नुको साथै निर्माणधिन नेपालगन्ज रंगशालामा कमसल खाले सामान अत्यधिक प्रयोग हुँदा पनि राखेप सदस्य सचिव केशव कुमार बिष्ट मौन रहनु रहस्यमय मानिदै आएको छ ।
जुडो कभर्ड हल निर्माणमा १-६ को मसाला र २ नम्बरको ईटा प्रयोग, रंगशालाभित्र निर्माण गरिएको प्याराफिट निर्माण सम्पन्न हुनु पुर्व नै चर्किनुको साथै विशिष्ट अतिथीको लागि निर्माण गर्न लागिएको प्याराफिटसंगै निर्माणधिन भर्यांग र ट्वाइलेटमा कमसल खाले ईटा प्रयोग हुँदा पनि सदस्य सचिव विष्ट समेत मौन बस्दा करोडौको लगानीमा निर्माण हुन लागेको रंगशाला अहिले रहस्यमय बन्दै गएको छ ।
जुडो कभर्ड हलको बिषयमा सदस्य सचिव बिष्टले छानबिन गर्ने बचन दिएको भएपनि राजनीतिक दबावका कारण छानबिनको फाइल जहॉको त्यही नै अडकिएको छ भने चर्किएको प्याराफिट र कमसल खाले ईटा प्रयोग गरी खुलेआम भ्रष्टाचार हुँदा पनि राजनीतिक दबावका कारण छानबिन र कारवाही हुन नसक्ने अधिकांशले ठोकुवा समेत गरेका छन् ।
सदस्य सचिव बिष्ट २०७६ असार मसान्तमा रिटायर्ड हुँदैछन । आफु रिटायर्ड हुनु पुर्व कुनै पनि हालतमा आठौं राष्ट्रिय खेलकूद सम्पन्न गराउन राजनीतिक दबावका साथमा जे जस्तो अवस्थामा निर्माणधिन रंगशालामा प्रतियोगिता गराउन सक्रिय देखिएका छन् ।
निर्माण पूर्ण रूपमा सम्पन्न नहुनु र जस्तो सुकै कमसल खाले सामान प्रयोग गरेर निर्माण गर्न लगाइनु र सबै भन्दा बढी गर्मी हुने भनी चिनिएको ठाउँ नेपालगन्जमा अत्यधिक गर्मी हुने महिना बैशाखमा प्रतियोगिता गराउनु पनि रहस्यमय नै मानिदै आएको छ ।
अत्यधिक गर्मी मौसममा प्रतियोगिता हुँदा स्थानिय खेलप्रेमी दर्शकको सहभागिता नहुने टिकाटिप्पणी आईरहेको अवस्थामा दर्शक विहिन प्रतियोगिता हुने पक्का रहेको स्थानियले बताएका छन् ।




प्रतिक्रिया