शसस्त्र प्रहरीले भगौडा घोषित गरेका इन्सपेक्टर यसरी बने नेपाल प्रहरीका डिएसपी


काठमाडौं -प्रहरी ऐन २०१२ को दफा १७ (च) मा नेपाल प्रहरीका कर्मचारीले सेना अथवा प्रहरी फोर्स छाडी भागेको भन्ने मनासिब शंका परेका व्यक्तिलाई विना वारेन्ट पक्राउ गर्न पाउने अधिकार प्रदान गरिएको छ ।

 

 

 

तर कानुन कार्यान्वयन गर्ने र गराउने निकाय नेपाल प्रहरीमै प्रहरी फोर्स छाडेर भागेका एक भगौडाले नेपाल प्रहरीमा सेवा प्रवेश गरेर वर्षौंदेखि काम गरिरहेको भेटिएको छ । २०६१ जेठ १५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ती अधिकृत एक तह पदोन्नति भएर हाल प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत छन् ।

 

 

 

नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्याल र हालका आईजीपी प्रकाश अर्यालको विश्वासपात्रको रुपमा वर्षौंदेखि प्रहरी मुख्यालयको आईजीपी सचिवालयमा हर्ताकर्ता भई काम गर्दै आएका डीएसपी रवीन्द्रबहादुर सिंह सशस्त्र प्रहरी बलका भगौडा रहेको तथ्य खुल्न आएको छ ।

 

सिंहले २०६० साउन २९ मा सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएर २०६० भदौ ५ देखि तालिम शुरु गरेको सशस्त्र प्रहरी बलको रेकर्डमा उल्लेख छ । उक्त रेकर्डअनुसार २०६० पुस १७ मा उनी तालिम गर्दागर्दै भागेका थिए ।

 

 

 

 

जम्मा १३३ दिन तालिम गरेर भागेका उनको भद्रकाली गण पिलुवामा दरबन्दी रहेको सशस्त्र प्रहरी बल नेपालको रेकर्डमा प्रष्ट उल्लेख छ । तालिम गर्दागर्दै बिना जानकारी भागेपछि सशस्त्र प्रहरी बलको मुख्यालयले प्रचलित कानुनअनुसारको रीत पु¥याएर २०६० सालमै भगौडा खाली गरिसकेको छ ।

 

 

 

‘त्यो बेलामा धेरै जना तालीम छाडेर भाग्नुभएको छ,’ सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बाबुराम पाण्डेले भने, ‘सिंह पनि तालीमको क्रममा भाग्नुभएको सशस्त्रले उल्लेख गरिसकेको छ ।’

 

 

प्रहरी ऐनअनुसार प्रहरी फोर्स छाडेर भाग्नु गम्भीर फौजदारी अपराध हो । प्रहरी ऐन २०१२ को दफा ३४ को ‘घ’ मा प्रहरी फोर्सबाट भागेमा ५ वर्षसम्म कैद वा १ वर्षको तलब बराबरसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

 

 

डीएसपी सिंहले आईजीपी सचिवालयमा बसेर केही वर्षदेखि आईजीपीको भाषण लेख्ने र मिडिया वाच गर्ने गर्दछन् । नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोग निर्देशिका जारी गरेपछि प्रहरी कर्मचारी तथा सञ्चारकर्मीहरुको फेसबुक र ट्विटर निगरानी गर्ने काममा करिब दुई वर्षदेखि खटिँदै आएका छन् ।

 

 

 

सशस्त्र प्रहरीको रेकर्डमा उनले तालिमको समयमा ४ महिनाको तलब लिइसकेको देखिन्छ । सरकारी सेवामा रहेर तलबभत्ता खाएर राष्ट्रलाई नै गद्दारी गरेर भाग्ने व्यक्ति पुनः ढाट छल गर्दै गैरकानुनी तरिकाले नेपाल प्रहरीमा प्रवेश गरेपछि उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समेत पर्ने देखिन्छ ।

 

 

 

सशस्त्रका प्रवक्ता डीआईजी पाण्डेले भगौडा घोषित भएका सिंहले अन्य निकायमा जागिर खान पाउने अधिकारबारे सोही निकायको नियमावलीमा भर पर्ने बताए ।

 

 

नेपाली प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले भने भगौडा घोषित कागजपत्र र त्यसका तथ्यहरुका आधारमा मात्र कुनै व्यक्ति नेपाल प्रहरीमा नियुक्त हुन योग्य रहे नरहेको बताउन सकिने जानकारी दिए ।

 

 

 

 

‘भगौडा घोषित भएका व्यक्तिलाई नेपाल प्रहरीको नियमावलीमा कारबाहीको व्यवस्था छ । निजामतीमा यस्तो प्रश्न नउठ्ने भए पनि सुरक्षा निकायमा यो विषयमा ध्यान दिइने गरिन्छ,’ उनले भने, ‘तर, कागजपत्रहरु हेरेर मात्र कारबाही हुनसक्छ ।’

 

 

‘राष्ट्रसेवाको लागि भन्दै तलबभत्ता लिएर राष्ट्रसेवा नगरी भाग्नु भनेको, अख्तियारीको दुरुपयोग तथा भ्रष्टाचारको परिभाषाभित्र पर्ने विषय हो, यसमा आयोगले छानबिन गर्छ,’ अख्तियारका एक उच्च अधिकारीले भने ।

 

 

 

भगौडाको आरोप लागेका डीएसपी सिंहले आफू सशस्त्र प्रहरी बलमा भर्ना भएको र तालिम गर्दागर्दै छोडेको स्वीकार गरेका छन् ।

 

 

 

 

एउटा सुरक्षा संगठनलाई धोका दिएर हिँडेको तपाईं नेपाल प्रहरीका लागि त झनै अयोग्य हुनुभयो, ढाँटछल गरेर यसरी जागिर खान पाइन्छ त ? भन्ने  जिज्ञासामा डीएसपी सिंहले त्यसबेला आफू आमा बिरामी र घरमा समस्या भएको कारण भाग्न बाध्य भएको बताए । ‘यो ठूलो विषय होइन, तपाईंहरुले पत्रकारिताको धर्मअनुसार सोच्नुहोला,’ उनले भने ।

 

 

 

यसरी सुरक्षा निकायमा एउटामा छाडी अर्कोमा जागिर खाने र सेवा अवधि ढाँट्ने पदाधिकारी धेरै रहेको जानकारीमा आएको छ, जुन सुरक्षा निकायका ऐन तथा नियमावलीले पनि कानूनविपरीत रहेको उल्लेख गरेका छन् । हालै मात्र सेवा अवधि ढाँटेर जागिर खाइरहेका सशस्त्र प्रहरी बलका डीआईजी नरेन्द्र सिंहको खुलासा भएको छ ।

 

 

 

२०७३ साउनमै अनिवार्य अवकाश पाउनुपर्ने व्यक्तिले ढाँटेर १६ महिना बढी समयसम्म उनले जागिर खाएको भन्दै प्रहरी किताबखानाले खाएको तलबभत्तासमेत असुल गर्न निर्देशन दिएको छ । प्रहरी किताबखानामा सिंहले ०४३ साउनमा सेवा शुरु गरेको अभिलेख भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement