कांग्रेसले भन्यो-लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर

कांग्रेसले भन्यो-लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर भएको बताएको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै देशभर भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी भएको बताएका छन् ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यवसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी हो ।’

विज्ञप्तिमा प्रवक्ता महतले देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको जनाएका छन् । देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्तो नचाहेको उनको भनाइ छ ।

देश अहिले राजनीतिक शुन्यता र कानुनी अनिश्चिततामा रहेको जनाउँदै उनले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम हुन जरुरी रहेको औंल्याएका छन् ।