काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ ।
यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा रोकिएको नेप्से बिहीबार घटेर बन्द भएको छ ।
सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमश: २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा बिहीबार ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।
बिहीबारको बजारमा पहिलो कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माबिलुङ इनर्जीको शेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ । यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत्, हिमालयन डिस्टीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यसदिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहहरूको गिरावट दर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।




प्रतिक्रिया