नेप्सेमा हालसम्मकै उच्च रेकर्ड, १० अर्ब ६१ करोडकाे कारोबार

नेप्सेमा हालसम्मकै उच्च रेकर्ड, १० अर्ब ६१ करोडकाे कारोबार


काठमाण्डु – साताको दोस्रो दिन सोमबार आज नेप्सेले नयाँ रेकर्ड राखेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से १.४८ प्रतिशत अर्थात ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा पुगेको हो ।

यो हालसम्मकै उच्च विन्दु हो । आइतबार नेप्से २५२४ विन्दुमा पुगेर उच्च रेकर्ड बनाएको थियो । सोमवार दुई सय ६ वटा कम्पनीका दुई करोड ११ हजार कित्ता शेयर कारोबारमा १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबै समूह लगातार उकालो लागे पनि बढ्न नसकेको बैंकिङ र विकास बैंक समूहको सूचक उकालिँदा लघुवित्त, हाइड्रोपावर र निर्जीवन बिमामा करेक्सनका बाबजुत पनि नेप्से करिब डेढ प्रतिशतले बढेको हो ।

आज बैंकिङ सूचक सर्वाधिक ३.६५ प्रतिशत, विकास बैंकको सूचक ३.४७ प्रतिशत, वित्त कम्पनी समूहको सूचक २.०१ प्रतिशत र जीवन बिमाको सूचक १.१३ प्रतिशतले बढेको छ ।

यता आइतबार उकालिएको लघुवित्तको सूचक आज भने ०.६८ प्रतिशतले करेक्सन हुँदा हाइड्रोपावरको सूचक पनि ०.९८, निर्जीवन बिमाको सूचक ०.९८ र उत्पादन समूहको सूचकमा १.२१ प्रतिशतले करेक्सन आएको छ ।

आज कारोबार रकममा प्रभु बैंकले नेतृत्व गरेको छ । बैंकको ६२ करोड १३ लाख ५३ हजारको कारोबार हुँदा नेपाल लाइफको ३३ करोड ७९ लाख ५७ हजारको कारोबार भएको छ । नबिल बैंक र डिप्रोक्स लघुवित्तको पनि कारोबार रकम ३३ करोड नाघेको छ । सर्वाधिक कारोबार भएको प्रभु बैंकको १३ लाख ४६ हजार ३३० कित्ता सेयर किनबेच भएको छ ।

आज ग्रामीण विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा सर्किट लेभलमा कारोबार बन्द भएको छ । यस्तै प्रभु बैंकको सेयर मुल्य ९.१३ प्रतिशत र सनराइज बैंकको सेयर मूल्य ८.४५ तथा माछापुच्छ्रे बैंकको सेयर मूल्य ८.३९ प्रतिशतले बढेको छ ।

यता हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ६.७८ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ६ प्रतिशतमाथिले घटेको छ । यस्तै स्वभिमान लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य पनि ५ प्रतिशतभन्दा माथिले घटेको छ ।