कठमाण्डु – ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ युवाहरुले तानेर बीच सडकमा ल्याएका छन् । बिहीबार बिहान भेला भएका युवाहरुले लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो।
असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड समेत प्रदर्शन गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो।
असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ। गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन।
लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो। पछिल्लोपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाको आदेशका कारण रोकिएको थियो।




प्रतिक्रिया