काठमाण्डु – नेकपा एमालेका नेता घनश्याम भुसालले अहिलेको अवस्थामा माओवादी केन्द्रसँग पार्टी एकता हुन नसक्ने बताएका छन् ।
बिहीबार प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले पहिले एमालेभित्र एकता गर्ने भन्दै माओवादीसँग अहिलेको अवस्थामा पार्टी एकता हुन नसक्ने बताएका हुन् ।
उनले भने, ‘पहिलो एमालेभित्रको एकता, दोस्रो माओवादीसँगको सहकार्य अनि मात्र वामगठबन्धनलाई प्राथमिकतामा राखेका छौं ।’ त्यस्तै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार बन्न सक्ने दाबी गरे ।
नेता भुसालले ओलीको अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि ओलीले अहिलेसम्म त्यसलाई महशुस नगरेको आरोप लगाए । उनले ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताए ।
उनले भने, ‘महन्थ ठाकुरसँग ओलीजीको कहिले पनि सहकार्य थिएन, अहिले हामीभन्दा उहाँहरु नजिक रहेर मोर्चाबन्दी गरेको, बसउठ गरेको सुनिएको छ, देखिएको छ । यसले एमालेको एकता, वाम एकता बचाउन नसक्ने प्रष्ट पारेको छ ।’




प्रतिक्रिया