यी हुन् भावि प्रधानसेनापति शर्माका चुनौती र अवसर

यी हुन् भावि प्रधानसेनापति शर्माका चुनौती र अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनामा पहिलो पटक ब्राह्रमण समुदायबाट प्रधानसेनापति बन्ने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले पदावधि थप्न खोजेको चर्चा चलेपनि अन्तिममा उनले समयभन्दा केही पहिला नै सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको नाम प्रधानसेनापतिमा सिफारिस गरे । यसले सेनामा एउटा राम्रो परम्पराको सुरुवात समेत भएको छ भने थापामाथि लागेका आरोपसमेत खारेज गरेको छ ।

यसअघि सेनामा शर्मालाई रोक्न अनेक खेल भने नभएका होइनन् । तर, अन्तिममा प्रधानसेनापति थापाले उनलाई नै प्रधानसेनापतिमा सिफारिस गरेर सेनापतिको नियुक्तिलाई विवादरहित बनाए । शर्मा उपरथी हुंदा समेत उनको पदावधि थप गरिएको थियो । त्यो बेला पनि उनलाई रोक्न प्रयास भएका थिए ।

प्रधानसेनापति थापाको सिफारिसमै सरकारले शर्मालाई मंगलबार कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय गरिसकेको छ । उनी २६ भदौदेखि लागु हुने गरी नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् ।

हालका सेनापति थापाले २६ भदौमा अवकाश पाउनेछन् । तर, अवकाशको एक महिना अघि विदा बस्ने सैनिक परम्परा अनुरुप थापाले २४ साउनबाट जंगीअड्डा छाड्नेछन् । शर्माले त्यसपछि नेपाली सेनाको कमाण्ड सम्हाल्नेछन् । खासमा थापाले गत जेठदेखि नै शर्मालाई जिम्मेवारी दिन सुरु गरिसकेका थिए । त्यसैअनुसार उनले आफ्नो टिम समेत बनाइसकेका छन् । त्यो टिमले अहिले नयां प्रधानसेनापतिको ३ वर्षे कार्यकालको भिजन निर्माणको काम सैनिक मुख्यालयमा बसेर गरिरहेको छ । त्यो टिममा चोकबहादुर ढकाल, सन्तोषबल्लभ पौडेल, पवन घिमिरेलगायतका जर्नेलहरु छन् ।

सेनापति थापाले २३ जेठमा १ हजार दिन पुगेको उपलक्ष्यमा संचारकर्मीहरुसंग अन्तरक्रिया गर्दै नेतृत्व हस्तान्तरण थालेको घोषणा गरेका थिए । थापाले आफ्नो घोषणाअनुरुप नै नेपाली सेनाको नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका छन् । यसअघि पनि सेनामा नेतृत्व हस्तान्तरण यसैगरी हुने गरेको थियो । तर, प्रतिस्पर्धा भने तीव्र हुने गथ्र्यो ।

शर्माका प्रतिस्पर्धी बलाध्यक्ष रथी ईश्वर हमाल अहिले सिरिया मिसनमा छन् । हमाल आफै समेत बरियतामा अघि रहेका रथी शर्मा सेनापति बन्नुपर्ने र सेनाको परम्परालाई तोड्न नहुने पक्षमा थिए । उनलाई उक्साउन लाग्नेहरुलाई उनले त्यही जवाफ दिने गरेको चर्चा सैनिकवृतमा छ ।

२६ भदौपछि औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्न खोजेका शर्मा सेनामा भलादमी र मिलनसार जर्नेलका रुपमा चिनिन्छन् । सरल स्वभाव भएका शर्मा वौद्धिक हिसावले पनि अब्बल छन् । उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

सेनाका सबैजसो महत्वपूर्ण विभागमा बसेर काम गरेका शर्माबाट सेनाको एकतालाई कायम राख्न र संगठनलाई आधुनिकरणको दिशामा अगाडि बढाउन कुशल नेतृत्व दिने अपेक्षा गरिएको छ ।

हालका प्रधानसेनापति थापाको कार्यकालमा थुप्रै सुधारका कामहरु भएपनि केही काममा भने उनी विवादमा आएका थिए । उनकै कार्यकालमा सेनाले कोभिड—१९ विरुद्धको स्वास्थ्य सामाग्री खरिदमा हात हाल्दा सेना विवादमा तानिएको थियो । यद्यपि, पछि सेनाले जिम्मेवारीबाट पछि हट्ने निर्णय गरेको थियो । त्यसैगरी, तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलसंग पनि सैनिक नेतृत्वको सुमधुर सम्बन्ध हुन सकेन ।

जसका कारण पोखरेलले रक्षामन्त्रीबाटै विदा हुनु परेको थियो । शर्माका अगाडि बदलिएको परिस्थितीमा राजनीतिक नेतृत्वसंगको सम्बन्ध अगाडि बढाउनुपर्ने चुनौती छ । त्यसका साथै सेनामा यतिबेला धेरैपछि पूरै संगठनको पुर्नसंरचना भएको छ । त्यसमा ठूलो टिमवर्कको आवश्यकता पर्नेछ । जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्ने मुख्य चुनौती नयां प्रधानसेनापति शर्मालाई छ ।

‘अहिलेका चिफको कार्यकालमा बलियो फाउण्डेशन बनेको छ । कामका पूराना केही नजिरहरु उहांकै कार्यकालमा बसिसकेको छ । अबको चिफ सापलाई जनशक्ति र पूर्वाधार व्यवस्थापनमा बढी चुनौती देखेको छु,’ सेनाका एक उपरथीले काठमाण्डुपाटीसंग भने । उनले आधुनिकीकरणको कुरा प्रधानसेनापति एक्लैले गर्नेभन्दा पनि सरकारको सहयोग जुटाउन कुशलता देखाउनुपर्ने बताए ।

काठमाडौं—तराई\मधेश द्रुतमार्गमा प्रधानसेनापति थापाले आफ्ना नातेदारको दबावमा प्रतिस्पर्धा बिना नै चिनियां कम्पनीलाई ठेक्का दिएको आरोप छ । द्रुतमार्गमा थापाले राम्रो फाइदा लिएको बताइन्छ । तर, त्यसको पुष्टि भने भएको छैन । शर्माले राष्ट्रिय गौरवको यो परियोजनालाई कसरी अघि बढाउंछन् त्यो पनि हेर्न बांकी छ । थापाले आफ्नो कार्यकालमा द्रुतमार्ग परियोजना पूरा गर्ने घोषणा यसअघि गरेपनि यसमा खासै उपलब्धी हासिल हुन सकेको छैन ।

त्यसैगरी, सैनिक संगठनभित्र सुशासनका नाममा सेनापतिले गरेका जथाभावी कारवाहीले सेनाभित्र काम गर्ने वातावरण बिग्रिएको छ । त्यसले सेनाको आन्तरिक एकतामा समेत असर पुग्ने काम भएको सेनाकै केही अधिकारीहरु बताउंछन् । थापाले सस्तो लोकप्रियताका लागि सेनाको आन्तरिक विषयवस्तुलाई समेत बाहिर ल्याएर गलत गरेको आरोप पनि उनी माथि छ । थापाको कार्यकालमा सेनाका भूपुहरुको समेत सुमधुर सम्बन्ध बन्न सकेन । तर, पुरानो गोरख गण पृष्ठभूमी भएका शर्मालाई भूपुहरुबाट भने पूरै सहयोग हुने अपेक्षा गरिएको छ । उनलाई अवकासप्राप्त धेरै प्रधानसेनापतिहरुको साथ हुने सेनाका एक जर्नेलले बताए । यसले पनि उनलाई काम गर्न सजिलो हुने देखिन्छ ।

त्यसैगरी, नेपाली सेनाको इतिहासमा प्रधानसेनापति भएदेखि सबैभन्दा कम विदेश भ्रमणमा जाने सेनापति पनि थापा नै थिए । उनी भारत, चीन र अमेरिकाको औपचारिक भ्रमणमा मात्र गएका थिए । उनको कार्यकालमा तीनै देशसंगको सम्बन्ध त्यति सुमधुर बन्न सकेन ।

सेनाको आन्तरिक सुधारमा बढी ध्यान दिएका थापाको कार्यकालमा सैनिक कुटनीति भने मजबुत बन्न नसकेको जानकारहरु बताउंछन् । जसले गर्दा सेनाले आफ्नो क्षमता विकासका लागि लिनुपर्ने सहयोगसमेत ती देशहरुबाट लिन सकेन । त्यसैगरी, उच्च तहको द्धिपक्षीय भ्रमण पनि उनको कार्यकालमा हुन सकेनन् । तर, सहचारीकै अनुभव भएका शर्माको कार्यकालमा देश र सेनाको हितलाई ध्यानमा राखेर भारत, चीन, अमेरिका र बेलायतजस्ता शक्तिशाली देशहरुसंगग सैनिक सम्बन्ध अझ बलियो र सुदृढ हुने अपेक्षा गरिएको छ ।

हालका प्रधानसेनापति कागजी र सैद्धान्तिक बढी भएपनि शर्माको भने योजना कार्यान्वयन र निर्णय गर्न सक्ने क्षमता बढी छ ।

को हुन भावि प्रधानसेनापति शर्मा ?

२० बेसिकका सैनिक अधिकृत शर्मा अमेरिकाको नियर इस्ट साउथ एसिया सेन्टर (नेसा) र एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज (एपीसीएसएस)ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् । त्यसका साथै थाइल्याण्ड तथा पाकिस्तानबाट उनले प्रतिरक्षा सम्बन्धी तालिमसमेत हासिल गरेका छन् ।

२१ पुस २०२० मा काठमाण्डुमा जन्मिएका शर्मा पूरानो गोरख गणबाट सैनिक अधिकृतका रुपमा सेना प्रवेश गरेका थिए । ३७ वर्ष लामो सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डामा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेको अनुभवले उनलाई परिपक्व बनाएको छ । त्यसैगरी, पृतनापतिका रुपमा भने उनले हेटौडमा कमाण्ड सम्हालेका थिए ।

शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् । शर्मा भारतमा भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सभागी भएका थिए । त्यसका साथै उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिकशास्त्रमा एमफिल गरेका छन् ।

शर्माले बंगलादेशमा तीन वर्ष सैनिक सहचारीको रुपमा समेत काम गरेका थिए । सेनामा सबैजस्तो महत्वपूर्ण विभागमा काम गरेका शर्माबाट सेनाभित्र ठूलो अपेक्षा छ । उनले सेनापतिमा नियुक्त हुनुभन्दा पहिला नै सेनामा बनाएको टिमले भावि सेनापति शर्माले केही राम्रो काम गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ ।

थापाले आफ्नो कार्यकालको अन्त्यमा भएपनि सेनामा ‘तीन जोड एक कमाण्ड’ अवधारणा अघि बढाएका छन् । जसमा शर्माको पनि प्रत्यक्ष सहभागिता छ । यसको कार्यान्वयन शर्माको नेतृत्वमा हुनेछ । उनको तीन वर्षे कार्यकालमा सेनामा यो लगायत धेरै पछि भएको पूरै संगठनको पुर्नसंरचनालाई कसरी व्यवस्थापन गर्छन्, त्यसमा उनको सफलता र असफलता निर्भर हुनेछ ।