काठमाण्डु – नयाँ सरकार गठन भएको एक महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन् । गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
काँग्रेस र माओवादीबाट २–२ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार हाँकिराखेको अवस्था छ । २५ सदस्यीय मन्त्रिपरिषदमा १९ मन्त्री नियुक्त गर्न बाँकी छ । एकातिर, २५ जनाभन्दा ठूलो मन्त्रिपरिषद बनाउन नमिल्ने तर्फ आफ्नै दलमा पनि आकांक्षी धेरै भएपछि देउवालाई सकस भएको छ ।
गठबन्धनको सरकार भएकाले सबै दललाई हैसियत अनुसारको मन्त्रालय दिनुपर्ने देउवालाई दबाब छ । मन्त्रिपरिषद विस्तार नहुँदा कतिपय प्रशासनिक कामहरु ओझेलमा परेका छन् । मन्त्री नँहुदा व्यवस्थापन कमजोर हुनुका साथै जनताले फरक अनुभुती गर्न नपाएको गुनासो आउन थालेको छ ।
काँग्रेस, माओवादी, जसपा, नेकपा एमालेकाे माधव नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको हाे । गठबन्धनका दलहरुले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषले पुर्णता पाउन नसकेको कांग्रेसका एक नेताले जानकारी दिए । यद्यपि जनमोर्चाले सरकारमा नजाने बताएकाे छ ।
माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउँदै
माओवादी केन्द्रमा पनि मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न सकस परेको छ । नदोहोरिने गरी समावेशी तथा प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने माओवादीको मापदण्ड छ । मन्त्रिपरिषद विस्तार गर्न ढिलाई भएको भन्ने गुनासो आएसंगै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रसँग मन्त्रीको नाम मागेका छन् ।
सम्भवतः आजको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको छ । माओवादी केन्द्रबाट २ जना मन्त्री भइसकेका छन् । अर्थमन्त्रालय जनार्दन शर्मा र उर्जा मन्त्रालयको जिम्मेवारी पम्फा भुषालले पाएका छन् । माओवादीको भागमा सम्भावित ५ मन्त्रालय छ ।
जसपा अझै अलमलमा
पार्टीको आधिकारीकता विवाद टुङ्गो लागेसंगै सरकारमा जाने बताएको जनता समाजवादी पार्टी अहिलेसम्म सरकारमा जान सकेको छैन् ।
उसले माओवादीसंगको समान हैसियत खोजेको छ । जसपा नेता प्रदिप यादवका अनुसार मन्त्रालयको टुङ्गो लागेपछिमात्रै सरकारमा जाने व्यक्तिको टुङ्गो लाग्ने बताए ।
उनले भने, ‘आज साँझ बस्ने कार्यदलको बैठकले मन्त्रालयको भागबन्डामा सहमति जुटाउला त्यसपछिमात्रै हाम्रो पार्टीको बैठक बसेर टुङ्गो लगाउछौँ ।’
माधव नेपाल पक्ष अलमलमा
आफ्नै सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको एमालेको नेपाल समूह सरकारमा सहभागी हुने कि पार्टी एकता जोगाउने अलमलमा परेको छ ।
पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला सरकारमा सहभागि भएर पार्टी एकता धरापमा पार्न नहुने नेताहरुको भनाई छ । यद्यपी केही सांसदहरु भने नयाँ पार्टी बनाएरै भएपनि सरकारमा सहभागि हुन नेता नेपाललाई सुझाव दिएका छन् ।
आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउन कसरत गरिरहेका छन् ।
एक दुई दिनमै मन्त्रिपरिषदले पुर्णता पाउँछः प्रवक्ता कार्की
सरकारका प्रवत्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एक/दुई दिनमै मन्त्रिपरिषदले पुर्णता पाउने बताएका छन् । प्रवक्ता कार्कीले जति धेरै छलफल गर्यो त्यतिनै राम्रो परिणाम निस्कने भन्दै केही दिनमा मन्त्रिमण्डलले पूर्णता पाउने बताए ।
काठमाण्डुपाटीसँगको कुराकानीमा उनले भने, ‘छलफल संवाद भनेको जति धेरै गर्नसक्यो त्यती राम्रो हो हतारिएर दुख पाउनुभन्दा निर्णय अगाडिनै छलफल गर्यो भने त्यसको सकारात्मक असर पर्छ नत्र भोली जे पनि हुनसक्छ । एक दुई दिनमै तपाईले मन्त्रिपरिषद विस्तारको सुखद समाचार थाहा पाउनुहुन्छ ।’
अहिले शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको उनले बताए । मन्त्रिपरिषद विस्तार नभएकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार फेरीएपनि जनताले परिवर्तनको अनुभुति गर्न नसकेको गुनासो सुनिन थालेको छ ।




प्रतिक्रिया