नयाँ नेतृत्वका विषयमा सेना र जेन जीबीच आज निर्णायक वार्ता

नयाँ नेतृत्वका विषयमा सेना र जेन जीबीच आज निर्णायक वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गहिरिँदो राजनीतिक संकटकाबीच अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जीबीच बिहीबार निर्णायक वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।

नेपाली सेनाले बुधबार आन्तरिक सहमति कायम गरेर जेन जीलाई वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेन जीबिच विवाद भएपछि वार्ता बिहीबारको लागि सारिएको हो ।

जेन जीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ । काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

जेन जीका एक प्रतिनिधिका अनुसार अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

यसैबीच नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल हुने बताए । छलफलले राजनीतिक निकास निकाल्ने उनले विश्वास व्यक्त गरे ।