यसरी गरियो नयाँ वर्ष २०२६को स्वागत

यसरी गरियो नयाँ वर्ष २०२६को स्वागत

विश्वभर आतिशबाजी र मनोरञ्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्रेगोरियन पात्रोअनुसार बिहीबारदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

इस्वी संवतको नयाँ वर्षलाई स्वागत गर्ने पहिलो देश किरिबाटी हो । किरिबाटी मध्य प्रशान्त महासागरमा रहेको ओशिनियाको माइक्रोनेसिया उपक्षेत्रमा रहेको एक टापु राष्ट्र हो ।

यस्तै किरिबाटीपछि न्युजिल्यान्डले पनि अकल्यान्डमा आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिसकेको बीबीसीले जनाएको छ । यसपछि अस्ट्रेलिया र एशियाका धेरै देशहरूमा नयाँ वर्ष शुरू हुनेछ ।

किरिबाटीको किरितिमाटी टापुबाट शुरू हुने नयाँ वर्षको उत्सव छिमेकी बेकर टापुमा पुगेर समाप्त हुन्छ ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् ।

विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

नयाँ वर्ष मनाउँदा आतिशबाजी गर्ने विश्वव्यापी तरिका हो । यस्तै डेनमार्कमा आफ्ना साथीहरूको ढोकामा प्लेटहरू फोर्ने गरिन्छ, यसो गर्दा १२ महिनासम्म शुभकामना पाइने उनीहरू विश्वास गर्छन् ।

यस्तै जापान र दक्षिण कोरियामा घण्टी बजाउनु अर्को परम्परा हो । जापानमा घण्टी १०८ पटक बजाइन्छ – जसले वर्षको शुरुआत हल्लाखल्लाले गर्छ । अमेरिकामा, न्यूयोर्कका मानिसहरू टाइम्स स्क्वायर बल ड्रपका लागि गन्ती गर्छन् जब एउटा चम्किलो बल झण्डाको खम्बाबाट तल सर्छ र घडीको सुई मध्यरातमा बज्दा तल पुग्छ ।