काठमाडौं – जथाभावी सडकमा सवारी पार्किङ गर्ने समस्याको अन्त्य गर्न व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिन राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज (आइतबार) एक विशेष कार्यक्रमका बीच स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट काठामाडौंमा हुने जथाभावी पार्किङ, सवारी जामलगायतका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
यो स्मार्ट पार्किङ व्यवस्था लागु भएसँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सकिने विश्वास महानगरले लिएको छ । शाक्यले निकट भविष्यमै स्मार्टपार्किङ अन्य स्थानमा पनि विस्तार गरिँदै लैजाने बताए ।
स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको जनाएको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।
पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गरि आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।
यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रुलीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ । मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ८० रुपैयाँ शुल्क लाग्नेछ ।
अनावश्यक रुपमा पार्किङ खोजिरहनु नपर्ने हुँदा समयको बचत हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत सघाउ पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।




प्रतिक्रिया