स्थानीय तहमा कर्मचारी भर्नाको आवेदन नरोकिने


काठमाडौं—लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गरेका छन् । विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेरमात्रै निर्णय गरिने उनको भनाइ छ ।

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले आयोग स्वच्छ निकाय भएकोले कानून र संविधानको पूर्ण पालना गर्ने विश्वास दिलाए । उनले भने,‘आयोगले योग्य र भरोसायोग्य जनशक्ति नियुक्ति गर्छ । आयोग विवादमा आउँदैन ।’ आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने उनको भनाइ छ । उनले भने,‘समिति आफैंमा सार्वभौम निकाय हो । हामी समितिको निर्णय पालना गर्छौं ।’

यद्धपी उनले आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको सुनाए । उनले थपे,‘समितिको निर्देशन आयोगमा दर्ता भैसकेको छ । अब यस सम्बन्धमा छलफल गरेरमात्रै हामी यथाशक्य छिटो निश्कर्षमा पुग्छौं ।’

उनले आयोगको पूर्ण पदाधिकारीको बैठक नबसुञ्जेल आवेदन प्रक्रिया नरोकिने पनि स्पष्ट पारे । उनले भने,‘हामी छिट्टै यसको समाधान दिन्छौं । उम्मेद्धवारलाई अप्ठ्यारो नपरोस भन्नेतर्फ आयोग सचेत छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement