काठमाडौँ—विद्रोह गरेर आएको नेकपा माओवादी केन्द्र र तत्कालीन एमालेबीच एकता भएको एक वर्षभन्दा बढी भइसकेको छ। यद्यपि, अझै तल्लो तहसम्म एकताको काम सम्पन्न हुन बाँकी नै छ ।
राजधानी काठमाडौँ मात्र होइन मुलुकका अन्य स्थानमा हुने कार्यक्रममा नेकपा अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगसँगै हुने गरेका छन् ।
तर, सहिद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी कार्यालय धूम्बाराहीमा आयोजना गरेको स्मृति सभामा ओली देखिएनन्। गुठी विधेयकप्रति विरोध भइरहेका बेला ओली त्यसलाई समाधान गर्न सोमबार दिनभर व्यस्त रहेको भनिए पनि तत्कालीन एमालेका कुनै पनि नेता स्मृति सभामा सहभागी भएनन्। खड्का तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए।
स्मृति सभामा नेकपा अध्यक्ष प्रचण्ड,प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए। प्रचण्डले जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्ने बताए। यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ पार्टी एकता गरिएको उनको भनाइ छ।
उनले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्नेमा जोड दिए। ‘पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपछ,’ उनले भने, ‘स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।’




प्रतिक्रिया