काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताएका छन्। जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले पार्टी एकता ठुलो काम भएकोले केही अलमल भए जस्तो लागेको बताए। “पार्टी एकता टुंगिएन भनेर अब निराश हुनु पर्दैन ” प्रधानमन्त्री ओलीले भने, “असार भित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक बर्ष देखि सबैले नेता कार्यकर्ताले उत्साहपूर्वक काम गर्न थाल्नुहुनेछ । ”
प्रधानमन्त्री ओलीले दुई ठुला वामपन्थी दलको चुनावी तालमेल मार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको बताए।
सरकारले धेरै राम्रा काम गरेको तर त्यसको प्रचार नभएको बताउनुभएको छ । “यस बर्ष मात्र ४ सय वटा झोलुंगे पुल निर्माण भएका छन् । १ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ ” उनले भने, “काठमाडौंका सडक सफा भएका छन् । दशैंसम्म पुग्दा सरकारको आलोचना बन्द हुन्छ । ”
प्रधानमन्त्री ओलीले मदन भण्डारी बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे। मदन भण्डारीकै अगुवाइमा २०४६ सालमा नेपाली काँग्रेससँग मिलेर पञ्चायत विरुद्धको आन्दोलन सफल पारिएको प्रधानमन्त्री ओलीको भनाइ छ । “ कम्युनिष्ट काँग्रेसलाई आपसमा भिडाएर कमजोर पार्ने राणनीतिलाई मदन भण्डारी र गणेशमान सिंहको सुझबुझले तोड्यो ” उनले भने “कम्यूनिष्ट पार्टीको नेतृत्वमा मदन भण्डारी भएकै कारणले मात्र त्यो सम्भव भयो ।”अहिले नेपाल कम्यूनिष्ट पार्टी जहाँ पुगेको छ ,त्यसमा पुषपलाल र मदन भण्डारीको ठुलो योगदान रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।




प्रतिक्रिया