आफ्नो निर्वाचन क्षेत्रको समस्या लिएर मन्त्रीहरुलाई भेटिन खानेपानी मन्त्रीले

आफ्नो निर्वाचन क्षेत्रको समस्या लिएर मन्त्रीहरुलाई भेटिन खानेपानी मन्त्रीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार छलफल गरेको छ ।

खानेपानी मन्त्री मगरको नेतृत्वमा प्रदेश सांसद तारा लामा, जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति फैरु तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख  जीवन थापा लगायतको टोलीले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसँग भेटघाट गरी कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को विकास आयोजनाका कामहरुलाई तीव्रता दिन माग गरेको हो ।

टोलीले स्वास्थ्य मन्त्री यादवसँगको भेटमा पुनर्वास नगरपालिका  ५ मा अवस्थित त्रिभुवन राष्ट्रिय हेल्थ पोष्टलाई २५ शैय्या सम्मको अस्पताल बनाउन माग गरेको छ । उक्त क्षेत्रमा कुनैपनि अस्पताल नभएको र मान्छेहरु बिरामी पर्दा कि त भारत, कि त धनगढी जानु पर्ने भएकाले अस्पताल चाहिएको पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले बताए।

त्यस्तै टोलीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल भारतको सीमादेखि सिम्रीसम्म ५ किलोमिटर र डोकेबजारदेखि दोंदा नदीसम्म ३ किलोमिटर सडक पिच गर्ने कार्यलाई तीव्रता दिन संघीय मामिला मन्त्री पण्डितसँग माग गरेको छ ।

त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको ६० करोड बजेट मध्ये परासन गाउँदेखि भानुबस्ती, सिम्री हुँदै दशरथबस्ती सम्म करिब ९ किलोमिटर बाटो पिच गर्न टोलीले सहरी विकास मन्त्रीसँग माग गरेको छ । उक्त बाटो पिच गर्नका लागि ३० करोड लाग्ने अनुमान गरिएको मेयर थापाले जानकारी दिए।

पुनर्वास नगरपालिका भित्रै पर्ने कोटिहोम धार्मिक पर्यटकीय स्थल निर्माण गर्नका लागि समेत आफूहरुले सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराएको मेयर थापाले बताउनुभयो । नजिकै बन्दा ताल र १२ बिघा जग्गा रहेकाले उक्त क्षेत्र धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने मेयर थापाको भनाई छ । यो आयोजनाका लागि ३० करोड बजेट छुट्याइएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा चक्रपथ बनाउने सरकारको योजना छ । चक्रपथ बनाउनका लागि अहिले विनियोजन गरिएको बजेट अपुग हुने भएकाले बजेट थप्न माग गरिएको मेयर थापाले जानकारी दिए।  त्यस्तै आईबिआरडी बजारदेखि प्रतिभा नगर बजारसम्म करिब डेढ किलोमिटर बाटो पिच गर्न छुट्याइएको रकम कम हुने भएकाले बजेट थपेर काम अगाडि बढाउन सहरी विकास मन्त्रीसँग माग राखिएको उनले बताए।