काठमाडाैं—संघीय संसदका विभिन्न समितिका सभापतिहरुका लागि किनेका ११ वटै गाडीमा समस्या रहेको अध्ययन गर्न गठित छानविन समितिले निस्कर्ष निकालेको छ।
छानबिन समिति संयोजक रामनारायण विडारीका अनुसार ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै समस्या देखिएको छ। त्यसमा पनि ३ वटामा अलि बढी समस्या देखियो उनले जनाए ।
ती गाडी महिन्द्रा कम्पनीका हुन्। एउटामा गियरमा समस्या देखिएको छ, भने अर्काेको छतमा । त्यस्तै अर्काे गाडीको बडी बिकल्डिङ गर्दा लापरबाही गरेको पाइएको छ । स्टिकर र डोर भाइजर पनि कम गुणस्तरको देखिएको उनले बताए।
समितिले प्राविधिक इन्जिनियर, सार्वजनिक खरिद अनुगमन कार्यालयका विशेषज्ञ र आपूर्तिकर्तासँग छलफल गरी तयार पारेको प्रतिवेदन मंगलबार सभामुख कृष्णबहादुर महरालाई बुझाइएको छ ।
समितिले ती गाडी सामान्य मर्मत गरेर हुने भए ७ दिनभित्र मर्मत गर्न लगाउन, ७ दिनमा मर्मत गरेर नसक्ने भए फिर्ता पठाउन र फिर्ता नगरेर आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस गरेको छ ।
संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो जिप एक महिनामै बिग्रन थालेपछि सभामुख महराले बिँडारीको नेतृत्वमा गत साउन २७ गते पाँच सदस्यीय छानबिन समिति बनाएका थिए।




प्रतिक्रिया