गृहमन्त्री र युएनएचसीआरका एशिया निर्देशक भेटवार्ता, यस्ताे भयाे कुराकानी


काठमाडौं–गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) एशिया प्रशान्त क्षेत्र ब्यूरोका निर्देशक इन्द्रिका रातवत्तेले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भूटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्ग्यालगायत शरणार्थीको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुनःस्थापनाका लागि युएनएचसिआरले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

उनले भूटानी शरणार्थीको तेस्रो मुलुकमा पुनःस्थापना कार्यक्रम सफल भएको बताउँदै करीब एक लाख भूटानी शरणार्थीलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरिएर बाँकी रहेका करीब ६ हजार ५०० भूटानी शरणार्थीका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे।

 बाँकी रहेका भूटानी शरणार्थीका सम्बन्धमा विभिन्न विकल्पबारे छलफल भइरहेको भन्दै सबैभन्दा स्थायी समाधान उनीहरुलाई भूटानमै फर्काउनु रहेको भन्दै त्यसका लागि छिट्टै भूटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी दिए।

निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका सराहनीय रहेको टिप्प्णी गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement