मृतकको नाममा तीन लाख भत्ता झ्वाम पार्ने तत्कालीन गाविस सचिवविरुद्ध मुद्दा


काठमाडौं–नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षाभत्ता आफ्नै औँठाछाप प्रयोग गरी हिनामिना गरेको अभियोग लागेपछि छानबिन गर्दा उक्त खुलासा भएको हो ।

आयोगले दैलेखका तत्कालीन गाविस सचिव टीकाराम रेग्मीले आर्थिक वर्ष २०६९-०७० को दोस्रो र तेस्रो किस्ता तथा आव २०७०-७१ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ताका लागि उपलब्ध भएको तीन लाख ४४ हजार ५०० बराबरको रकम आफ्नै हस्ताक्षर गरी दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए

यस्तै सचिव रेग्मी र सहलेखापाल शर्माले कृषि, वन तथा वातावरण शीर्षकमा प्राप्त भएको रु एक लाख ५२ हजार ५७० समेत कामै नगरी हिनामिना गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले मंगलबार नै महेन्द्र मन्दिर माध्यामिक विद्यालय परेवाडाँडा लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला समन्वय समिति कैलालीमा कार्यरत नायब सुब्बा जगदीशबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली रहेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement