काठमाडौं–सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष सङ्कलन र सम्बोधन गरिनेछ ।
सो सेन्टरको सञ्चालनबाट मन्त्रालयअन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास गरिएको छ । उक्त कल सेन्टरको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुभारम्भ गरे।
सेन्टरमार्फत मन्त्रालयले मुख्य गरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका साथै मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारवाहीबारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गरिने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए।
उनले वैदेशिक रोजगारीमा ठगीलगायतको समस्यामा परी न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका वा स्वास्थ्य समस्या भई घर फर्कन चाहने, मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्यामा परेका, झुठो मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानूनी सहायताको आवश्यकता रहेका व्यक्तिले सेन्टरमा फोन गरी सहायताका लागि अनुरोध गर्न सक्ने बताए।
सेवाग्राहीले स्वदेशबाट भए सेन्टरको ११४१ वा १६६००१५०००५ मा निःशुल्क गुनासो गर्न सक्नेछन् । सेन्टरको इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइवरलगायत विभिन्न सामाजिक सञ्जाल, अनलाइन नेटवर्कमार्फत निःशुल्क गुनासो गर्न सकिनेछ ।
त्यसैगरी ं९७७ १५९७०००७ मा टेलिफोन गरी गुनासो तथा सुझाव दिन सकिने प्रवक्ता डा रेग्मीले जानकारी दिए। तत्कालका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्नेले निःशुल्क टेलिफोन गर्न सकिने व्यवस्था मिलाइएको र केही समयभित्रै अन्य टेलिफोन सेवा प्रदायकको सेवा प्रयोग गर्नेले पनि निःशुल्क फोन गर्न सक्ने व्यवस्था मिलाइने बताए। सेन्टरको सेवा हरेक दिन बिहान ७ देखि साँझ ८ बजेसम्म उपलब्ध हुनेछ ।
गुनासो सुनुवाइ प्रक्रिया छरितो
सेन्टरमा प्राप्त गुनासालाई सम्बन्धित निकायमा पठाउन सफ्टवेरको विकास गरिएको छ । उक्त सफ्टवेरमार्फत गुनासो तत्काल सम्बन्धित निकायका प्रमुख समक्ष पुग्नेछ । मन्त्रालयका उच्च पदाधिकारीले गुनासो सुनुवाइ भएको-नभएको मोबाइलबाटै अनुगमन गर्न सक्नेछन् ।
कुन गुनासो, कुन अधिकारी समक्ष पुगेको छ, कहिले पुग्यो, गुनासो सम्बोधन ग¥यो की गरेन भनेर हेर्न सकिने व्यवस्था मिलाइएको छ । तत्कालका लागि पाँच वटा चेम्बरबाट गुनासो सुन्न सक्ने व्यवस्था मिलाइएको छ । कल सेन्टरमा आएका टेलिफोन रेकर्ड गर्ने व्यवस्था मिलाइएको छ ।




प्रतिक्रिया